पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको सेवालाई थप विस्तार गरी २४ सै घण्टा सेवा दिइने निर्णय गरेको छ । कोरोना संक्रमित भएका तर जटिल समस्या नभएका विरामीहरुलाई उपचार गर्नका लागि २४ सै घण्टा सेवा खुला गरिने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने,‘अहिले हामीसँग दुई जना स्टार्फ नर्स मात्र छन् अब दुई जना हेल्थ असिस्टेन्ट (एचए) थप गरेर काम गर्ने छौं ।’ अस्पतालमा पर्याप्त मात्रमा अक्सिजन र अन्य स्वास्थ्य सामग्री समेत नभएकाले तत्काल खरिद गरी सेवालाई थप प्रभावकारी बनाईने अध्यक्ष थापाले बताए । कार्यपालिकाको बैँठकले कोराना भाईरस रोकथामको लागि तत्काल प्रचारात्मक कार्य गर्ने र सम्पूर्ण माथागढीवासीलाई स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैंठकले डिसीसीएमसीले गरेको निर्णयलाई कडाईका साथ पालना गराउने निर्णय गरेको छ । पछिल्लो दिन गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिलेसम्म गाउँपालिकामा १ सय ३३ जना संक्रमित भएका छन् । जस मध्ये १ सय ६ जना निको भएका छन् भने २३ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढमा रहेको छ ।
यहाँ कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । गाउँपालिकामा कोरोनाको जोखिम बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न , गरेको हो । अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्न, सिमा नाकाबाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, स्वास्थ्य परीक्षण भए नभएको हेर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न समेत आग्रह गरेको छ । भिडभाड हुने गतिविधि बन्द गर्न,अनावशयक रुपमा घर बाहिर नजान, जानै पर्ने भए जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न, भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई कम्तिमा १० दिन सम्म सुरक्षित तरिकारले होम क्वारेन्टाइनमा बस्न, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डिसिसिएमसीले जारी गरेका निर्णय तथा स्वास्थ्य मापदण्डहरु पालना गर्न गाउँपालिकाले यस अघि नै सूचना जारी गरेको थियो ।