पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ३८ जना पुरुष र १२ जना महिला गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ सय २६ जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १२ जना, रैनादेवी छहरा गाउँपालिकाका २९ जना,माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना,पूर्वखोला गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार २ सय ७० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ६१ जना महिला र एक हजार ६ सय ९ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ४८ पुगेको छ । अहिलेसम्म जिल्लामा २ सय २९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।