पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा २९ जना पुरुष र २१ जना महिला गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ सय २० जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा २१ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, माथागढी गाउँपालिकामा, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिकाका एक÷एक जना, रिब्दीकोट गाउँपालिकामा २ जना र रम्भा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । अहिलेसम्म जिल्लामा ३ सय २ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।