Shittalpati
पाल्पामा बढ्दै कोरोना ग्राफ

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भयो । बुधबार पनि १ सय २६ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टी भएको थियो । यहाँबाट पनि प्रष्ट हुन सकिन्छ कि, पाल्पामा कोरोनाको ग्राफ दैनिक उकालो लागिरहेको छ । कोरोना परीक्षणका लागि स्वाब परीक्षण गरिएका मध्ये ३० देखि ५० प्रतिशत बढी मानिसमा कोरोना संक्रमण पुष्टि हुँदै गएपछि यहाँको अवस्था थप भयावह बन्दै गएको छ । जिल्लामा संक्रिय संक्रमित मध्ये ३ सय २ जना अहिले घरमै आइसोलेट भएर बसेका छन्, भने बाँकी २३ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि जिल्लामा नियन्त्रणको तयारी भने शून्यप्रायः छ । पहिलो चरणको संक्रमणका बेला अग्रसरता लिएका स्थानीय तहका जनप्रतिनिधिहरुले यसपटक आफ्नो पालिकामा आइशोलेसन बनाउने विषयमा समेत चासो दिएका छैनन् ।


विगतमा लाखौँ रुपैयाँ खर्च गरेर बनाइएका क्वारेन्टाइनहरु अहिले देखिदैन । गत वर्ष लगभग सबैजसो स्थानीय तहमा कम्तीमा २० देखि एक सय वटा बेडका आइसोलेसन बनेका थिए । क्वारेन्टाइन त जिल्लाभर नै दुई हजार बढी बनेका थिए । तर यो वर्ष हालसम्म जिल्लाभर जम्मा ४६ वटा आइसोलेसन मात्र छन् । गत वर्ष अधिकास क्वारेन्टाईन र आइशोलेसनहरु विद्यालयमा बनाइएका थिए । तर पछि विद्यालय सञ्चालन भएपछि भने ति क्वारेन्टाईन र आइशोलेसनहरु भत्काइएकाले स्थानीय तहहरुले पुनः तिनीहरुको मर्मत गरी काम अगाडि बढाएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । स्थानीय तहहरूले आइसोलेसन तयार गर्ने, भारत लगायत तेस्रो मुलुकबाट आउने मानिसको तथ्यांक लिने र क्वारेन्टाइनमा राख्ने, स्वाब परीक्षण गर्ने, काम अझैँ सुरु गरेका छैनन् । जसले गर्दा कोरोना संक्रमण भयावह हुने अवस्था रहेको छ । अहिले पनि समुदायमा धेरै मानिसमा कोरोना संक्रमण छ तर चेकजाँच नभएकाले संक्रमण कम जस्तो देखिएको छ । त्यसैले कोरोना नियन्त्रणका लागि तत्काल सबैले काम गर्नुपर्ने अवस्था आएको जिल्लाका सरोकारवालाहरु बताउँछन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भने कोरोना महामारी नियन्त्रणका लागि सम्बन्धित तहमा स्थानीय सरकार आफैले चासो देखाउनुपर्ने बताए ।

सबै स्रोत र साधन स्थानीय सरकार आफैसँग भएकाले स्थानीय प्रशासनले त्यसमा समन्वय मात्र गरिदिने प्रजिअ पाण्डेको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले पहिलो चरणमा जस्तो चासो नदेखाएको उनले बताए । ‘पहिलो चरणमा जस्तो चासो यसपटक जनप्रतिनिधिले देखाएका छैनन्,’ प्रजिअ पाण्डेले भने । पटक–पटक स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिहरुसँग बैठक बसी क्वारेन्टाईन र आइसोलेसनहरु निर्माण गर्न आफुले भनेको उनले बताए ।

थप ५० जनामा कोरोना: जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा २९ जना पुरुष र २१ जना महिला गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ सय २० जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा २१ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, माथागढी गाउँपालिकामा, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिकाका एक/एक जना, रिब्दीकोट गाउँपालिकामा २ जना र रम्भा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।


यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेका छ । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । अहिलेसम्म जिल्लामा ३ सय २ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update