रामचन्द्र रायमाझी
पाल्पा, यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर बेहाल भएका समाचारहरु दिनहुँ आइरहेका छन् । यसतर्फ न संघीय सरकारले ध्यान दिएको छ नत प्रदेश र स्थानीय सरकारले नै । बरु तीनै तहका सरकारहरु पूर्व तयारी विना नै निषेधाज्ञा लगाउने होडमा छन् । पाल्पामा पनि शुक्रबार राती १२ बजेदेखि प्रमुख जिल्ला अधिकारीको आदेशमा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । संक्रमितका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्ने विषयमा यहाँका अधिकांश स्थानीय सरकार मौन छन्, भने केही स्थानीय सरकार संक्रमित नागरिकहरुको सारथी बनेका छन् ।
जिल्लाको बगनासकालीमा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि बगनासकाली गाउँ सरकार भने कोरोना संक्रमितहरुको सारथी बन्दै गएको छ । गाउँपालिकावासीहरु कोरोना संक्रमण भई स्वास्थ्य उपकरणका अभावमा समस्यामा नपरुन भन्ने उद्देश्यले गाउँ सरकार कोरोना संक्रमितहरुको घरमै पुगी चेक जाँचसँगै स्वास्थ्य सामग्री वितरणमा लागेको छ । गाउँ सरकारले गत बैशाख १३ गते गाउँ कार्यपालिकाको बैंठकबाटै संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुरुप कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि स्वास्थ्य सामग्री पुर्याउन थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ‘स्वास्थ्य उपकरणको अभावमा गाउँवासीलाई मर्न दिँदैनौ,’ उनले भने । ‘जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । हामी त्यसै अनुसार काम गरिरहेका छौँ ।’ वर्तमान अवस्थामा संक्रमित भएकाहरुको मनोवल उच्च बनाउनु आवश्यक रहेको अध्यक्ष बस्यालको भनाई छ । ‘संक्रमितहरुको मनोवल उच्च बनाउनका लागि हामी उनीहरुको सारथी बनेका छौं’ उनले भने ।
काम गर्ने इच्छा शक्ति भएमा स्रोत र साधनको अभाव नहुने अध्यक्ष बस्याललको भनाई छ । ‘विपतको बेला काम गरेर देखाउने अवसर पनि हो,’ उनले भने । कोरोना संक्रमितलाई शक्तिबद्र्धक औषधीहरु, भिटामिन बि, भिटामिन सी, जिङ्ग चक्की, च्वनपरास, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु वितरण गरिदै आइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्स अक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामग्रीहरु पनि वितरण गरिदै आइएको छ । कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाहरुले ज्वरो देखी, अक्सिजन समेत घरमै मापन गर्न सकुन र शक्तिवद्र्धक औषधीहरु खाएर छिटो निको हुन सकुन भनेर घरमै सेवा दिइएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले बताए । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले होम आइसोलेसनमा रहेका ९ जना कोरोना संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गरेको छ । स्वास्थ्य सामग्री वितरणसँगै ज्वरो तथा खोकी लागेका विरामीहरुलाई आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु र स्वास्थ्य परामर्श समेत मेडिकल अफिसर र स्वास्थ्यकर्मीहरुको टोलीले दिएको छ । गाउँपालिकाले अक्सिजन सिलिण्डर समेत संक्रमितको घरमा पु¥याउने तयारी थालेको छ ।