पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५६ जनामा पिसिआर परीक्षण गरिएकोमा २८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो परीक्षणको ५० प्रतिशत हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा २३ जना, रामपुर नगरपालिकाका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका एक/एक जना, बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय ८७ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ७ सय १ जना महिला र एक हजार ६ सय ८६ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ९७ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ९८ पुगेको छ । अहिलेसम्म जिल्लामा ३ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।