काठमाडौं, नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय १५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस संक्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरवाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लङघन गर्ने एक हजार ८६ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएर समेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । पछिल्लो २४ घण्टामा प्रहरीले ५ सय ९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६ सय ४१ जनालाई सचेत गराइएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । –रासस