मुलुक अहिले कोरोना महामारीबाट आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरु संक्रमितसँगै मृत्युको शिखार बनेका छन् । सरकारी फितलो व्यवस्थापनका कारण अहिले कोरोना महामारीले भयावह अवस्था सिर्जना गरेको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न नसक्दा अहिले यो नियती नेपाली जनताले भोग्नु परिरहेको छ । सीमानाकालाई व्यवस्थित बनाउन नसक्दा नेपालले अपेक्षा गरेभन्दा भिन्न परिस्थितिको अहिले सामाना गरिरहेको छ । नागरिकहरु अहिले कोरोनाविरुद्धको लडाइँमा छन् । यस्तो अवस्थामा सरकार र राजनितिकदलहरु जनताप्रति उत्तरदायी बन्नुपर्ने बेलामा बेमौसमको राजनितिमै व्यस्त छन् ।
मुलुकमा कोरोना भाइरसले जुन तीव्रताका साथ महामारीको स्वरूप लिँदै छ त्यही गतिले सरकार सञ्चालकहरु राजनीतिक खेलमा लागेका छन् । कोरोनासँग सामना गर्न जनताको साथमा हिँड्नुपर्ने बेला उनीहरु सत्ता जोगाउने तिगडममा लाग्नु दुखद् हो । संघदेखि प्रदेशसम्म राजनीतिक चतु¥याइँ र धुत्र्याइँका खेलहरु मञ्चन भएका छन् । विश्वासको मत लिनेदेखि अभियुक्तहरुलाई मन्त्री बनाउने र एकैदिन राजीनामा दिएर मुख्यमन्त्रीको शपथग्रहण गर्ने राजनीतिक खेलहरु कोरोनाले तीव्र गति ग्रहण गरेकै बेला देखिएका छन् । सरकारले अस्पतालमा भर्ना गर्ने शैया नभएको भन्दै विज्ञप्ति जारी गरेको अवस्थामा राजनीतिक दलहरुबीच हुनुपर्ने समन्वय पटक्कै देखिएको छैन । आफ्नो दलगत स्वार्थ पूरा गर्न करोडौं खर्च गरेर गाडीका गाडी नागरिक ओसार–पसार गर्ने राजनीतिक दलहरु अहिले किन जनताको सेवा गर्नका लागि खुट्टा कमाइरहेका छन् ? प्रदेश र संघीय सरकार ढाल्ने र बनाउने खेल चलिरहेका बेला जनता कोरोनासँग कसरी बाँच्ने भन्ने चिन्तामा देखिन्छन् । यतिखेर सर्वाधिक अकर्मण्य सरकार त सावित भएको छ नै, राजनीतिक दलहरु पनि गैरजिम्मेवार देखिएका छन् । देशको विषम परिस्थितिमा पनि जनताको छटपटी र पीडालाई बेवास्ता गर्दै सत्ता स्वार्थमा रमाउनु जत्तिको लज्जास्पदको विषय अरु कुनै पनि हुन सक्दैन ।