Shittalpati
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

गुल्मी, गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन पोजेटिभ रहेका छन् ।

दोश्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ५२ जनाले कोरोना जितेर निको भएका छन् । अहिले संक्रिय संक्रमितको संख्या ५४३ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिए । संक्रमितमध्ये ५३० जना होम आइसोलेशनमा रहेका छन् । भने १३ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १४० बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । भने पहिलो र दोश्रो मात्राको खोप ४ हजार १२ जनाले लगाएका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update