मुलुकका अधिकांस जिल्लाहमा कोरोना महामारी भयावह बन्दै गएपछि निषेधाज्ञा लगाईएको छ । पाल्पामा पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ । यस अवधिमा अत्यावश्यक सेवामा संलग्न बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा रोक लगाएको छ । खाद्यसँग सम्बन्धित पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खुला रहेका छन् ।
जिल्ला प्रवेश गर्न चाहनेले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ । ठूला सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय,सङ्ग्रहालय, चिडियाखाना जस्ता भीडभाड हुने क्षेत्रको सञ्चालनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जनासम्म सहभागी हुन सकिने छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रमण बढी भएका ठाउँमा संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेपछि सम्बन्धित जिल्ला प्रशासनले यस्तो निर्णय कडाइका साथ लागू गरेका छन् । जनताको स्वास्थ्य सुरक्षाका लागि लिइएका यस्ता निर्णय कतिपय सन्दर्भमा कष्टकर बनेका छन् । आधारभूत तहका जनताको गरिखाने अवसर गुमेको छ । स्वास्थ्य, शिक्षा, किनमेललगायत सहज जीवनयापनमा समस्या आएको छ । यस्ता समस्या आउने देख्दादेख्दै पनि सरकारले नागरिकको जीवन रक्षा गर्नुपर्ने कर्तव्यलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यस्तो अप्रिय निर्णय लिएको छ। अवस्था जटिल बन्दै गएको छ । यो जटिलता सिर्जना गर्नु मानिसको नै ठूलो भूमिका रहेको छ । त्यसैले यसलाई रोक्ने जिम्मेवारी पनि हाम्रै हो । यसको रोकथामको जचेतना जगाउन हुन सक्छ वा अप्ठ्यारोमा परेकालाई राहत मिलाउन अनि उपचार नपाएर छट्पटिएकालाई उपचार दिलाउन सक्नु अहिलेको आवश्यकता हो । यसमा केही सहृदयी स्वःस्फूर्त अघि सर्न थालेको पाइएको छ । यो आफैमा सकरात्मक छ । तिनीहरूको प्रशंसा मात्र होइन, तिनीहरूबाट समुदायले प्रेरणा लिन सक्नुपर्छ । राज्यको सम्पूर्ण पहुँच नभएको अवस्थामा रोगको रोकथाम र नियन्त्रणमा नागरिकस्तरबाट होस्टेमा हैंसे गर्न जरी छ । विश्वव्यापी महाविपत्तिका बेलामा एकले अर्कोलाई तन, मन र धनले सहयोग गर्न अग्रसर हुनुपर्छ । यस्तो अवस्थामा जसले जे सहयोग गर्न सक्छ, बिना कञ्जुस्याइँ गर्नुपर्छ । तसर्थ यो महमारीका बेला सबैले मानवता प्रदर्शन गरौं ।