आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ ।
‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकी थिइन् । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गरेकी थिइन । जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो । यो दिवस मनाउँदै गर्दा कोरोना महामारीमा होमिएका ति नर्सहरुको सम्मान गर्नु नै पर्छ । यति बेला विश्वमै कोरोना भाइरसको संक्रमण बढदै जाँदा र अस्पताल तथा स्वास्थ्य संस्थाका शैयाहरु कोरोना संक्रमितले भरिदै गएको अवस्थामा तिनै संक्रमितलाई उपचार गर्दा र तिनैलाई बचाउने प्रयास गर्दा कतिपय नर्सहरु नै कोरोना भाइरस अर्थात (कोभीड–१९) को संक्रमित हुन पुगेका छन् ।
स्वास्थ्यकर्मीहरु नै संक्रमित भइरहँदा हिजोआज देशका विभिन्न ठाउँमा केही व्यक्तिहरुबाट तिनै नर्सहरुमाथि अपमान गर्ने, दुव्र्यवहार गर्ने, अपशव्द बोल्ने, घरमा बस्न नदिने, कोठा भाडामा लिएर बस्नेलाई घर मालिकले कोठामा जान नदिने जस्ता अमर्यादित र अमानविय कार्यहरु गर्ने गराउने गरेको सुन्न,पढ्न र देख्न पाइन्छ । यो अत्यन्त गलत हो । जो व्यक्ति नागरिकको स्वास्थ्य सुरक्षाको लागि आफूलाई कोरोना भाइरसको संक्रमणको समेत वास्ता नगरी आफैलाई कोरोना भाइरसको संक्रमित बनाएर रात दिन खाना र खाजा समेत समयमा नखाइकन बिरामीको सेवामा खटिइ रहेका छन् तिनैलाई आज हामीले अपमान र दुव्र्यवहार गर्नु दुखत हो । त्यसैले आफ्नो ज्यानको कुनै प्रवाह नगरी दिन रात, भोक भोकै विरामीको सेवामा समर्पित नर्सहरुको सम्मान गर्न सके मात्र विश्व नर्स दिवस मनाउनुको सार्थकता रहन सक्छ, अन्यथा दिवस मनाउनुको कुनै अर्थ छैनन् ।