Shittalpati
भोकले मर्ने अवस्था सिर्जना नहोस्

कोरोना संक्रमणको कारण देश संकटग्रस्त अवस्थामा छ । देशका अधिकांश जिल्लाहरुमा संक्रमणको अवस्था भयावह बने पछि निषेधाज्ञा जारी छ । सबै कामकाज ठप्प छ । संक्रमित विरामीहरुले अस्पतालहरु भरिभराउ छन् । अक्सिनज अभावमा कयौं विरामीले ज्यान गुमाएका छन् । यतिबेला सरकारले संक्रमितहरुलाई अस्पतालमा भर्ना लगायत अक्सिजन र भेण्टिलेटर उपलब्ध गराउन नसकेको भन्दै आलोचना भएको छ । यस्तो अवस्थामा अनाहकमा ज्यान जान सक्ने सम्भावना त छँदैछ त्यसका अतिरिक्त बाँच्नेले समेत भोग्नुपर्ने संकट कहालीलाग्दो छ ।
यस्तो अवस्थामा सरकार सत्ता स्वार्थमा लागेको छ । संकटको समयमा जनताको अभिभावको रुपमा अगाडि आउनु पर्ने सरकार सत्ता स्वार्थमा फस्नु दुखत हो । कोरोना महामारीबाट तंग्रिन खोजेको अर्थतन्त्र फेरि थला परेको छ ।

यसले विपन्न र श्रमिक वर्गलाई सबैभन्दा बढी प्रभाव पारेको छ । दैनिक कमाउँदै खाँदै गर्नेको चुलो अब निभेको छ । कामका अवसर बन्द भएका छन् । गरेर खान बाहिर निस्कन पाएका छैनन् । निेषधाज्ञा गर्नु राज्यको बाध्यता हो पनि हो । संक्रामक रोगबाट आमनागरिकलाई जोगाउनैपर्छ । तर, त्यसले सिर्जना गर्ने भोकको व्यथा सम्बोधन गर्न पनि उत्तिकै चिन्ता राख्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । यतिबेला विपन्न वर्गका नागरिकहरुलाई रोगसँगै भोकको चिन्ता पनि थपिएको छ ।

कोरोना महामारीका कारण विकसित राष्ट्रका नागरिकहरु समेत चिन्तित भएको अवस्थामा हाम्रो जस्तो अविकसित मुलुकका नागरिकहरुमा चिन्ता लाग्नु पनि अस्वाभाविक होइन । अहिले नै त यस्तो दुरावस्था छ भने यो अवस्था अझै कायम रहे के होला ? नेपालीको वर्तमान मात्र होइन भविष्य समेत भयावह हुने कुरामा कुनै शंका नै गर्न सकिदैन । एक छाक पनि सञ्चय हुने ठूलो संख्याका नागरिक भोकभोकै हुन थालिसके । अब तिनले राज्यबाट आश्वासन होइन, आहार चाहेका छन् । सरकार त्यसमा गम्भीर हुनैपर्छ । संक्रमणको उच्च जोखिममा रहेको वर्ग पनि ज्याला मजदूरी गरेर खाने समुदाय नै हो । जटिल र महँगो बन्दै गएको उपचारमा तिनको पहुँचको समस्या साथमा छँदैछ । दिनभरि भारी बोकेर काम गर्ने हजारौं मजदुर सडकका पेटीमा रात बिताउन बाध्य छन् । उनीहरुलाई रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने पिरोलो छ । यसर्थ गाँस र बासको अभावमा सडकमा रात बिताउन बाध्य गरिब मजुदुरप्रति सरकारले गम्भीर भएर सोच्न जरुरी छ, ताकि उनीहरु रोगले भन्दा पनि भोकले मर्न पर्ने अवस्था सिर्जना नहोस् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update