देश यतिबेला कोरोना महामारीको दोस्रो चरणमा छ । दिनहुँ हजारौं कोरोना संक्रमित देखिएका छन् भने सयौंको ज्यान गइसकेको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । संक्रमित र परिवारको रुवावासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाई ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने गरी अहिले कोरोनाको ग्राफ दिनदिनै उकालो चढ्दैछ ।
जताततै कोरोनाले हायलकायल बनाएको अवस्थामा सरकार र दलहरू कुर्सीको लडाइँमा दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा सरकार निरिह जस्तो देखिनु दुखद् हो । जनतालाई सरकार चाहिने बेला केन्द्र र प्रदेशमा सरकार गिराउने र बनाउने रमिता चलेको छ । सरकार र जिम्मेवार दलहरूको ध्यान कोरोना नियन्त्रण र रोकथाममा भन्दा सत्ता राजनीतिमा केन्द्रित छ । यस्तो अवस्थामा जनताले सरकारको भर पर्नु भन्दा आफै सुरक्षित भएर बस्नु उपयुक्त हुन सक्छ । सुरक्षित हुन स्वास्थ्यसम्बन्धी मापदण्ड र सामाजिक दूरी कायम गर्न जरुरी छ । आफ्नो स्वास्थ्यको ख्याल आफैँ राख्नु पर्छ । किनभने, आफूलाई माया गर्ने आफूभन्दा बढी दोस्रो व्यक्ति हुन सक्दैन । आफ्नो परिवारले जति आफ्नो ख्याल अरु कसैले गर्न सक्दैन । आफू र आफ्नो परिवारभन्दा विश्वासिलो अर्को मानिस नहुन सक्छन् । त्यसैले, कोरोना महाव्याधिको समयमा घरबाट निस्कनु रोगलाई निम्तो जस्तै हो । अझ, यस्तो विषम परिस्थितिको समयमा भीडभाडमा जानु त ‘आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नु’ बराबर हो । चाडपर्वहरु घुमीफिरी आउँछन् । सुरक्षित भई बाँचिरहे अरु दसौँ वर्ष चाडपर्व मनाउन सकिन्छ । हेलचेक्र्याइँ गर्ने र जथाभावी हिँडडुल गर्दा अकल्पनीय घटना नहोला भन्न सकिँदैन । तसर्थ महामारीका बेला आफ्नो सुरक्षा आफै गरौं ।