Shittalpati
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’)

शालिकराम पाण्डे ‘शिला’
१७ चैत्र २०७६(सोमबार)
६ बजे बिउँझे पछि कफी बनाएं । कफिसँगै थोरै बेर बिहानको कलिलो घाम तापियो । नियमित कर्मसँगै मन गहिरेको कथा सँग्रह लिएर पढ्न बसें । थोरैबेर र एक/दुई कथा मात्रै पढ्दैछु । आधा जति भयोहोला । बिहान खाना बनाउने क्रममै परिवारका सबै सदस्यहरु भिडियोबाट एकै ठाउँ भएर भलाकुसारी गर्‍यौं ।
ठूलु (समीक्षा) ले मेरो दिल्ली यात्राका मिठा नमिठा अनुभवहरुमा स्वर दिएर पठाईन् । छोरीको मिठो स्वरमा मेरो यात्रा निवन्धले झन् जीवन पाए जस्तो लाग्यो । जांदै नगएको हरिद्वार पनि लेखमा मिसिएर आएछ । धानमा झारको गेडा जस्तै । छोरीको सुझाव अनुसार मूल प्रतिमा मिलाए । कान्छीछोरी (कान्छु) ले बनाएका चित्रहरु फेसबुकमा राखिदिएको थिए ।

लक डाउनमा बालबालिकाहरुलाई सिर्जनात्मक काममा प्रोत्साहित गरौं भन्ने सन्दर्भमा । धेरैबाट प्रसंसा आयो । यस्ता प्रसंसाहरुले बाल बालिकाहरुलाई प्रोत्साहित गर्छ नै । बालबालिकाका सवाललाई लिएर फेसबुकमा विभिन्न चासो र बालमैत्री सामग्रीहरु राख्न थालिएको छ । किताब पढ्ने, सुनाउने, चित्र कोर्ने, नाच्ने नचाउँने, हाँस्ने हँसाउने सामग्रीहरु आएका छन् । यस्तो बेला यस्तै सामग्रीहरुको जरुरी पनि हुन्छ । भोलि सिनियर स्टाफहरुको बीचमा भिडियो कलमा मिटिङ गर्नुपर्ला । यसले अवस्था अपडेट हुन्छ । चुनौतिहरु सामना गर्ने उपायहरुको खोजी पनि हुन्छ । साथै रमाईलो र प्रविधि प्रयोगको अभ्यास पनि हुन्छ । छलफलका एजेन्डाहरु बनाए र साथीहरुलाई बैठकको लागि निमन्त्रणा पनि गरे । प्रविधिको पूर्व अभ्यास पनि गरियो । केही समस्याहरु छन् । स्काईप वा अरु भर पर्दा माध्यमहरु नभएका होइनन् तर सबैको पहँुच पनि त हुनुपर्यो । म्यासेन्जरमा सबैको पहँुच भएकोले त्यही माध्यम छनौट भएको छ । हेरौं कति सफल भईन्छ ? अफिस आउने जाने गर्दा मलाई दिन बितेको पत्तो भएको छैन । काममा पनि ब्यस्त छु । लेख्ने, पढ्ने र अफिसका सम्पर्क/समन्वयका कामहरुले त्यस्तो बनाएको हो । काम त आंफै खोज्ने हो रहेछ । कसैले यो गर भनेको छैन र त झन् ब्यस्त छु । पत्रपत्रिका बन्द छ । अनलाइन न्यूजहरु भएकोले त्यसको आवश्यकता भने महसुस भएको छैन । मान्छेहरुसँग भेटघाट छैन । त्यसको नियास्रो फोन, फेसबुक र मेसेन्जर, भिडियो कलबाट मेटिएको छ । घुमघाम छैन । यसको अभावलाई युट्युब हेरेर हटाउने प्रयास गरिएको छ । बजार सुनसान छ । केही मान्छेहरु फ्याट्टफुट्ट हिंडेका देखिन्छन् । त्यति सामग्री पनि चाहिएको छैन । एक्लो मान्छेलाई कति के पो चाहिने र ¤ चाहिए पनि फोन सम्पर्कबाट काम चलेको छ । जीवनमा पहिलो पटक भोगिएको यो महासंकट, यो माहामारीले संसारलाई नै ठप्प बनाएको छ । चीन करिव करिव यसबाट मुक्त हुने क्रममा छ भने अहिले खास गरी पश्चिममा देशहरुमा मान्छेहरु मरिरहेका छन् । मर्नेहरुको संख्या तीस हजार नाघिसकेको छ । आज वीवीसी सुन्दै निदाएछु ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update