Shittalpati
पाल्पामा धमाधम बढ्न थाले कोरोना निको हुने

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो एक सातामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयको एक हप्ताको तथ्याङ्क हेर्दा जिल्लामा ५ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु मध्ये केही अस्पतालमा र केही होमआइसोलेसनमा रहेर उपचार गराएकाहरु हुन् । सोही समयमा ७ सय ६४ जना संक्रमित भए । स्वास्थ्य कार्यालयको पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा वैशाख २९ गते ६५ जना, वैशाख ३० गते ६२, वैशाख ३१ गते १ सय २९,जेठ १ गते १ सय ९, जेठ २ गते ७१ , जेठ ३ गते १ सय ४० जना संक्रमितले कोरोना जितेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । मंगलबार स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ५९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।जसमा तानसेन नगरपालिकाका ७५, रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिकाका २/२ जना,माथागढीका गाउँपालिका,निस्दी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाका एक÷एक जना, बगनासकाली गाउँपालिकाका १९ जना, पूर्वखोलाका ५, रम्भाका १० जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ८ सय २४ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय ४९, रामपुरका ३ सय ४, पूर्वखोलाका २ सय ८९, रैनादेवी छहराका २ सय ३५, रम्भाका ११५, बगनासकालीका २ सय २३, तिनाउका ९९, रिब्दीकोटका ११२, निस्दीका १ सय २९ र तानसेनका १ हजार १ सय ६९ जना संक्रमितले कोरोना जितेका छन् ।

               १ सय ३० जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ७ र एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ८१ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ३० जना, माथागढीका २८, पूर्वखोलाका २, रैनादेवी छहरा, रम्भाका १/१ जना, बगनासकालीका ६, तिनाउका ३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ११ पुगेको छ । जसमा १ हजार २ सय ७७ जना महिला र २ हजार ५ सय ३४ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा २३ जना नयाँ संक्रमित देखिएका छन् । १ सय २ जनाको परीक्षण गरिएकोमा १० महिला र १३ पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १३, माथागढीका १, रैनादेवी छहराका ४, रम्भाका २, बगनासकालीका ३, जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ६ सय ५८ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ७७ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ५ सय २ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update