Shittalpati
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते

सीमा भट्टराई

पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । बुधबार मात्र जिल्लामा १ सय ६ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना महिला र ६९ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ३७, रैनादेवी छहरा गाउँपालिकाका ४०, माथागढीका गाउँपालिका,पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिकाका २/२,रामपुर नगरपालिका,निस्दी गाउँपालिकाका १/१, रम्भा गाउँपालिका ८, रिब्दीकोट गाउँपालिकाका ४,बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ९ सय ३० पुगेको छ ।

८३ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १६ र एन्टिजेन परीक्षणमा ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ४० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ९ जना, माथागढीका ५, बगनासकालीका, तिनाउका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २७ पुगेको छ । जसमा १ हजार २ सय ८३ जना महिला र २ हजार ५ सय ४ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा ६७ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका २३, निस्दीका ७, रिब्दीकोटमा ३, तिनाउका १३, बगनासकालीका ११, रैनादेवी छहरा, माथागढीका १/१ र रापुरका ८ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ७ सय २५ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ५३ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् भने ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update