Shittalpati
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज

पाल्पा,जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७३ जना महिला र १ सय १ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ७४, रैनादेवी छहरा गाउँपालिकाका ४३, रम्भा गाउँपालिकाक ९, माथागढी गाउँपालिका ७,रामपुर नगरपालिकाका २, पूर्वखोला गाउँपालिकाका ४, तिनाउ गाउँपालिकाका १०, बगनासकाली गाउँपालिकाका १६, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका ६ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार २ सय १४ पुगेको छ ।

         ५९ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ४६ र एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय २० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १२ जना, माथागढीका २८, रामपुर,पूर्वखोला, रम्भा, तिनाउका एक/एक र बगनासकालीका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ६ पुगेको छ । जसमा १ हजार ३ सय ७७ जना महिला र २ हजार ६ सय २९ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा १३ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका ६, बगनासकालीका ४, माथागढी, पूर्वखोला, रिब्दकिोटका एक/एक जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ७ सय ८० जनामा संक्रमण देखिएको छ ।

        थप दुईको मृत्यु

पाल्पामा शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन–६, का ७२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै माथागढी–२, रुप्सेका ६२ वर्षीय पुरुषको समेत कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार कोरोना संक्रमण भई लुम्विनी मेडिकल कलेजमा उपचाररत पुरुषको समेत विहीबार राती मृत्यु भएको हो । योसँगै पाल्पामा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ९९ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय २४ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update