गुल्मी, जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
चन्द्रकोट गाउँपालिका –३ का ४७ वर्षीय कोरोना संक्रमित पुरूषको पनि गुल्मी अस्पतालमा मृत्यु भएको छ । यससँगै दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि. टि अफिसर सुजन ढकालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १३ जना कोरोना संक्रमित थप भएका छन् । जसमा ८९ जना पीसआर पोजेटिभ र २४ जना एन्टीजेन पोजेटिभ रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ हजार ६ सय ३६ पुगेको छ । अहिलेसम्म १ हजार २ सय ४ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ सय ७२ जना पोजेटिभ र १ हजार ८ सय ५९ जनाएको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ९ सय ६४ जना पोजेटिभ भेटिएका हुन् ।
त्यस्तै अहिलेसम्म ४ सय ४० जनाले कोरोना जितेर निको भएका छन् । शुक्रबार एकैदिन १ सय ४ जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितको संख्या १ हजार १ सय ३३ रहेको छ । जसमा १ हजार १ सय २ जना होम आइसोलेसनमा, ३१ जना आइसोलेसनमा उपचाररत छन् । कोरोना संक्रमित बिरामीलाई मध्यनजर गरि जिल्लामा १ सय ७१ बेडको आइसोलेसन तयार गरि सञ्चालन गरिएको छ ।