Shittalpati
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस

गुल्मी, प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।

नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारद्वारा पटक–पटक मुलुकको संविधान नियम कानुन, विधि र लोकतान्त्रिक पद्धतिको अवमूल्यन भइरहेको बताए ।

आफैले भंग गरेको संसद सर्वोच्चले पूनस्थापित गर्नासाथ प्रधानमन्त्रीलाई नैतिक, संवैधानिक र राजनैतिक हिसाबमा सत्तामा बस्नु नसुहाउने विज्ञप्तिमा उल्लेख छ । न्यूनतम राजनैतिक नैतिकताको समेत ख्याल नगरी संसदमा उभिएर विश्वासको मत प्राप्त गर्ने अपेक्षा गर्नु घोर नैतिक अराजकताको पराकाष्ठा भएको सभापति श्रेष्ठले उल्लेख गरे ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि पद मुक्त भएका प्रधानमन्त्रीले पूनः संविधानको धारा ७६ को (३) बमोजिम अल्पमतको सरकार गठन गर्ने अवसर पाएपछि आफैले पत्रकार सम्मेलन गरी अब बहुमतको विश्वास प्राप्त गर्न नसकिने आधार तय गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने सार्वजनिक अभिव्यक्ति दिएको सभापति श्रेष्ठले स्मरण गराए ।

‘तर केही समयपश्चात स्वयम् आफै बहुमत सांसद सदस्यको सर्मथन गरेको हाँस्यास्पद तर्क गर्दै आफै दाबी पेश गर्नु जालझेल पूर्ण छ।’ सभापति श्रेष्ठले विज्ञप्ति मार्फत भने,‘त्यसैले नैतिक, कानुनी र संवैधानिक रुपमा क्षणभर पनि सत्तामा बस्न नसुहाउने यो सरकारको सिफारिसलाई बिना आधार हुबहु स्वीकृती गर्नु राष्ट्रपतिको मर्यादा र गणतान्त्रीक सर्वोच्च संस्थाको उपहास हो ।’

नेपाली काँग्रेसका सभापतिद्वारा संविधानको धारा ७६ को (५) अनुसार सरकार गठनका लागि संसदमा हाल कायम भएको संख्याको स्पष्ट बहुमत अर्थात १४९ जनाको संसद संख्यालाई राष्ट्रपतिले स्वीकार गर्नुको कुनै विकल्प नरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति भनिएको छ,‘सम्मानित सर्वोच्च अदालतबाट समेत सरकार गठनको संवैधानिक सम्भावना रहँदासम्म संसद भंग गर्न नपाइने नजिर यस अघि नै स्थापित भैसकेको छ। त्यसैले संसद विघटनको यो निर्णयले न्यायालयको समेत अपमान गरेको हाम्रो ठहर छ ।’

कोभिड–१९ को रोकथाम, उपचार र व्यवस्थापनमा असफल भएको यो सरकार सत्ता र शक्ती संघर्षको असंवैधानिक कृयाकलापमा लिप्त रहँनु देश र जनताका लागि दुर्भाग्य भएको उल्लेख छ । पटक–पटक प्रतिगामी कदम चालेको यो सरकारको वहिर्गमन बाहेक अर्को कुनै विकल्प नरहेको सभापति श्रेष्ठले बताए ।

साथै घोर असंवैधानिक कृयाकलापको विरुद्ध एकताबद्ध हुन राजनैतिक तथा न्यायीक संघर्ष जिल्लाका सबै पार्टी पङ्तीहरु भातृ तथा सुभेच्छुक संस्था, सम्पूर्ण राजनैतिक दल र नागरिक समाज सबैमा काँग्रेस गुल्मीले आग्रह गरेको छ । सभापति श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो सर्वसत्तावादी क्रियाकलापका विरुद्ध राजनैतिक तथा न्यायीक संघर्ष अन्तिम समयसम्म जारी रहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update