पाल्पा, समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
कोरोना नियन्त्रण गर्न वडा वडामा स्वाब संकलन सुरु गरिएको तानसेन नगरपालिकाले जनाएको छ । १४ वटै वडामा पुगेर स्वाब संकलन गरिने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए । उनले भने ‘समुदायमै कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि प्रत्येक वडामा पुगेर पीसीआर जाँच सुरु गरिएको छ ।’ समुदायमै पुगेर पिसिआर गरी कोरोनासँग मिल्ने लक्षणको आधारमा वास्तविक संक्रमित पहिचान हुने र छिटो उपचार पाउन सहज हुने नगर प्रमुख शाहीले विश्वास व्यक्त गरे ।
कोरोना एकबाट अर्कोमा फैलना नपाओस् भनेर नगर सरकारको समन्वयमा पिसिआर शिविर सञ्चालन गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । पिसिआर परीक्षण गरी समयमै त्यसको उपचार खोजिने भएकाले संक्रमण फैलना नपाउने अध्यक्ष पाण्डेले बताए । पहिलो दिन सोमबार ३० जनाभन्दा बढी मानिसको स्वाब संकलन गरिएको छ ।
शिविरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका, तरकारी तथा दुध पसले, खाद्यान्न व्यापारी, बाहिरबाट गाउँमा भित्रिएका मानिसको स्वाब संकलन गरिएकोे नगरपालिकाले जनाएको छ ।