Shittalpati
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै  गुल्मी कालिगण्डकीका युवा


पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट),जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।

गाउँपालिका भित्र विकराल बन्दै गएको महामारी नियन्त्रणमा स्थानीय सरकार एक्लैले नसक्ने भन्दै यहाँका युवाहरु स्थानीय सरकारलाई साथ दिदै महामारी नियन्त्रणमा जुटेका छन् । उनीहरुले ‘मेरो हजार मेरो जन्मभूमिलाई’ भन्ने अभियान नै सञ्चालन गरी कोरोना रोकथाममा स्थानीय सरकारलाई सहयोग गर्दै आएका छन् ।

गाउँपालिकामा बसोवास गर्ने, पेशा व्यवसायको सिलशिलामा गाउँभन्दा बाहिर रहेका नागरिकहरुबाट सहयोग रकम संकलन गरी युवाहरुले आवश्यक स्वास्थ्य सामग्री स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । उनीहरुले अभियानमार्फत संकलन गरेको रकमबाट पहिलो र दोस्रो चरणमा स्वास्थ्य सामग्री र औषधी खरिद गरी स्थानीय सरकारलाई दिएका छन् । एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य सामग्री र औषधी गाउँपालिका अध्यक्ष बेद बहादुर थापालाई हस्तान्तरण गरिएको कोभिड सहयोग सञ्जाल संस्थाले जनाएको छ ।

महामारीको बेला स्थानीय सरकार एक्लैले मात्र नसक्ने भएकाले गाउँका युवाहरु मिलेर सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता सागर केसीले बताए । उनले भने‘ यो विपद्को अवस्थामा जिम्मेवार नागरिकको हैसियतमा हामीहरु टुलुटुलु बसेर हेर्न सक्ने अवस्था नभए पछि हामी स्थानीय सरकारलाई सहयोग गर्ने अभियानमा जोडिएका हौं ।’ आम नागरिकहरु कोरोना महामारीसँग लडिरहेको र कयौंले ज्यान गुमाईसकेको यो अवस्थामा आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरे । स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले विपद्को घडीमा युवाहरुले देखाएको सक्रियता,सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको बताए । उनले स्थानीय सरकार कोरोना नियन्त्रणमा जुटिरहेको अवस्थामा युवाहरुले सहयोग गरेर थप उत्साह प्रदान गरिदिएकोमा उनीहरुलाई धन्यवाद दिएका छन् ।

पहिलो चरणमा युवाहरुले महामारीको अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि पीपीई ७ थान, पीपीई ग्राउण्ड सेट १० पिस,सर्जिकल मास्क १ हजार ७ सय ५० पिस,ग्लोब्स २ प्याकेट,फेस कभर ५० पिस,थर्मल गन ७ थान, अक्सोमिटर ७ थान सहयोग गरेका छन् । यस्तै उनीहरुले दोसो चरणमा पीपीई ७ थान र औषधि हस्तान्तरण गरेका छन् । उनीहरुले अभियानलाई निरन्तर जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update