Shittalpati
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री

पाल्पा, करुणा सेवा समाज पाल्पाले ट्राफिक प्रहरीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सेन कपितानियो स्कूलद्वारा सञ्चालित सेवा समाजले जिल्लाका ट्राफिक प्रहरीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

मंगलबार समाजका पदाधिकारीहरुले भौतिक दुरी कायम राख्दै ट्राफिक प्रहरी कार्यालय पाल्पालाई माक्स एक सय थान, ग्लोवस एक सय थान र स्यानिटाइजर हस्तान्तरण गरेका हुन् । उक्त सामग्री समाजका सदस्य इन्जिनियर बिष्णु प्रसाद श्रेष्ठले जिल्ला ट्राफिक प्रहरीका निमित्त प्रमुख अमृत सुवेदीलाई हस्तान्तरण गरेका छन् । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि हाल निषेधाज्ञा लगाइएको छ । सर्वसाधारणलाई निषेधाज्ञा पालना गराउन सुरक्षाकर्मीहरु सडकमा खटिएका छन् । उनीहरुका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको समाजका सदस्य श्रेष्ठले बताए । सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख सुवेदीले सुरक्षाकर्मीप्रति समाजले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए ।

संकटका बेला आम नागरिकहरुको पनि देशप्रति उत्तिकै जिम्मेवारी छ भन्ने भावनाका साथ देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिरहेका ट्राफिक प्रहरीलाई समाजले आवश्यक सुरक्षा सामग्री सहयोग गरेर अनुकरणीय कार्य गरेको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले बताए ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update