जगदीश भट्टराई
पाल्पा, कोरोना महामारी बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव भएको छ । जिल्लाका ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिका साथै सर्जिकल समानको अभाव भएको हो । औषधि र स्वास्थ्य सामग्री अभाव हुँदै गएपछि विरामीहरुले समस्या भोग्नु परेको गुनासो आएको छ ।
लुम्विनी मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीका अनुसार मेडिकल कलेजमा स्वास्थ्य सामग्रीका नाममा सर्जिकल माक्स र सिटामोल जस्ता अत्यावश्यक औषधिको समेत अभाव भएका कारण विरामी भर्ना गर्ने कार्यलाई अड्कल्नुपर्ने अवस्था आएको छ । एलएमसीका फार्मेसी कोअडिनेटर, निलराज नेपालले केही अत्यावश्यक औषधि र हाईफ्लो अक्सिजन मास्स, जस्ता सर्जिकल समानहरु सप्लाई भारतबाट हुने र त्यहाँका सप्लायर्सहरुले माग अनुसार सप्लाई दिन नसकेका कारण यहाँ औषधि र स्वास्थ्य सामग्रीमा अभाव देखिएको बताए । उनले भने, पाल्पा जिल्लामा मात्रै होईन नेपालमै अहिले कोरोना महामारीका कारण सर्जिकल समानको अभाव भएको हो, इनोक्सापाईरिन (लो मोलीक्युन हेपारिन) इन्जेक्सन,मेथाईल प्रडनी सोलोन इन्जेक्सन लगायतका अत्यावश्यक समानको अभाव परिपूर्ति नहुँदा उपचारमा समस्या भएको छ ।’
पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले कोभिडका बिरामीलाई प्रयोग हुने विभिन्न खालका औषधिहरुको अभावका कारण उपचा।मा समस्या आएको बताए । उनले भने,‘अस्तीसम्म ओक्सिजनको अभावले समस्या पारेको थियो, अहिले अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।’ विभिन्न किसिमका सर्जिकल सामानहरुका सप्लायर्सहरुले समान नपाएको भन्दै सप्लाई गर्न नमानेको र कतिपय समान समयमा आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको उनको भनाई छ । पाल्पा अस्पतालका डा.अमृत पन्थीका भन्छन्, ‘सरकारी अस्पतालमै औषधि र अत्यावश्यक सर्जिकल सामनको अभाव हुँदा उपचारमा समस्या आएको छ ।’
युनाईटेड मिसन टु नेपालकोतर्फबाट सञ्चालति युनाईटेड मिसन अस्पताल तानसेनका प्रशासकिय अधिकृत जीवन भट्टटराईका अनुसार लाईफ सेभिङ्ग औषधीहरुको अहिले एका एक अभाव भएको छ । अत्यावश्यक प्यारा सिटामोल नै छैन, यस्ता अत्यावश्यक औषधिको अभाव हुनु भने केही अस्पतालहरुले आवश्यकता भन्दा बढी भण्डारण गर्नु र उत्पादकहरुले पनि सप्लाई दिन नसक्नु उनको बुझाई छ । भट्टटराई भन्छन्, ‘भारतीय उत्पादकहरुले पनि सप्लाई दिन सकिरहेका छैनन् । इनोक्सापाईरिन (लो मोलीक्युन हेपारिन) इन्जेक्सन,मेथाईल प्रडनी सोलोन इन्जेक्सन लगायतका अत्यावश्यक समानको मूल्य पनि ह्वात्तै बढेको छ, मंहगो नलिई सुख छैन्, त्यो पनि समयमा पाईदैन् । अभाव भएका औषधि र सर्जिकल सामनका कुनै पनि सप्लायर्सहरु अहिले एमआरपि अनुसारको मूल्यमा दिन तयार छैनन् ।’उनले ले थपे ‘कतिपय नेपाली कम्पनीबाट उत्पादन हुने औषधिको पनि अहिले औधी मूल्य बढेको छ,र कृतिम अभाव पनि सिर्जना भएको हुनुपर्छ । त्यो पनि समस्या छ ।’ नोजल क्यानल जस्ता कोभिडका विरामीलाई नभई नहुँने सर्जिकल समान पनि अभाव हुनु यो बेला थप समस्या सिर्जना हुनु नै हो । पाल्पाको नामुद अस्पतालका रुपमा चिनिएको मिसनले अहिले दैनिक कोभिडका २० विरामी राख्न सक्ने क्षमता भएता पनि दैनिक २५ देखि ३० जना सम्मलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ । कोभिडले गर्दा लकडाउन भए पछि सिकिस्त नभएसम्म ननकोभिडका विरामी अस्पताल आउँदैनन्,कतिपय दीर्घरोगी र नियमित औषधि सेवन गर्नुपर्नेहरुका लागि पनि समस्या भएको उनको गुनासो छ ।
औषधि अभावले गर्दा नीजिस्तरमा सञ्चालित मेडिकलहरु पनि समस्यामा परेका छन् । संगम मेडिकल हल वडीज्ञानटोल तानसेन पाल्पाका सञ्चालक रुक्मागत शर्मा भन्छन्, ‘अहिलेलाई प्रस्ट भन्नुपर्दा समस्या भनेको प्यारासिटा मोलको हो, अनि हातमा लगाउँने र सजिकल ग्लोप्सको समेत अभाव भएको छ ।’ भट्टराई मेडिकल हल तानसेनका सञ्चालक टंक भट्टटराईका अनुसार अहिले मास्क, ग्लोभ्स, सिटामोलको माग बढी छ, यी सबै समानहरु घर घरमा भण्डारण भएका कारण पनि समस्या भएको हो । धेरै जसो समानहरु भारतीय कम्पनीबाट उत्पादित भएको र त्यहाँ पनि महामारी बढ्दो भएका कारण खपत बढे पछि आयतमा कमी आएकाले अभाव सिर्जना भएको न्यू गौतम बुद्ध सर्जिकल बुटवल सप्लायर्सका सन्तोष गौतमले बताए ।
यो विषम परिस्थितिमा कस्ता उपकरण सामग्री खपत हुने हुन भन्ने विषय, उत्पादक कम्पनीहरु र सप्लायर्सहरु पनि अनभिज्ञ भएका कारण केही समस्या देखिएको र्सिर्जकल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णु भण्डारीले बताए । उनले समस्या रहे पनि अब छिट्टै नै सहज हुने विश्वास व्यक्त गरे । भण्डारीले भने,‘अब हामी कहाँ नै पिपिईहरु पनि उत्पादन हुन थालेको अवस्था हो, कतिपय उपकरणहरु गतबर्षहरुमा एक बर्षमा खपत हुने अहिले एक दिनमै हुन थाले पछि अभाव भएको हो, भ्यान्टीलेटरमा प्रयोग हुने मास्कहरु एक अर्षमा खपत हुने समग्री अहिले केही घण्टामै खपत हुन थाल्यो त्यस कारण पनि समस्या भएको हो । ’
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले अत्यावश्यक प्यारासिटामोल उपभोक्ताले अधिक संग्रह गरेका कारण अभाव भएको बताए । १६ बर्ष पहिलादेखि नेपाल सरकारले प्यारासिटामोलमा मूल्य नियन्त्रण गरी दिएर व्यवहारिक नभएका कारण पनि समस्या परेको भन्दै उनले अब केही दिनमा यो समस्या समाधान हुने बताए । लुम्विनी प्रदेश स्वास्थ्य जनसंख्या मन्त्रालयको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले भने कोभिड १९ सँग सम्बन्धित सबै खाले अत्यावश्यक सर्जिकल तथा औषधिहरु प्राथमिकताका आधारमा जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयहरुलाई पठाई सकिएको बताए । उनले अन्य अत्यावश्यक औषधिहरु जिल्लाका सबै अस्पताल र जनस्वास्थ्य कार्यालयको माग र आवश्यकता आधारमा परिपूर्ति भएको र प्यारासिटामोलहरु जस्ता औषधिहरु पनि यो साता देखि सर्वसुलभ रुपमा प्राप्त गर्न सकिने बताए ।