गुल्मी, जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।
दैनिक ९४ स्वाबको नमुना परीक्षण मात्रै गर्न सकिने प्रयोगशालामा स्थानीय तहहरुले कुनै समन्वय नगरी स्वाब संकलन गरेकाले समस्या भएको प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए । उनले स्थानीय तहहरुले स्वाब संकलन गर्दा प्रयोगशालासँंग समन्वय नै नगरेकाले समस्या आएको बताए । प्रयोगशालामा रिएजेन्टको (क्यामिकल) समेत अभाव भइरहेकाले जथाभावी स्वाबको नमुना संकलन नगर्न पनि प्रयोगशालाले स्थानीय तहहरुलाई आग्रह गरेको छ । प्रयोगशालामा थेग्नै नसक्ने गरी स्वाबको नमुना आएकोमा ३ सय ५० नमुनाको परीक्षणलाई मात्र पुग्ने रिएजेन्ट क्यामिकल आफूहरुसंग रहेको पन्थीले बताए ।
पहिले क्यामिकल स्वास्थ्य सेवा विभागबाट आउने गरेकोमा अहिले रोकिएको र १ हजार ५ सय नमुना परीक्षण गर्ने क्यामिकल गुल्मी अस्पतालले खरिद गरी सकेको छ । बजारमा क्वालिटीको क्यामिकल पनि पाउँन छाडेकाले खरिद गर्न र क्वालिटीको क्यामिकलको प्रतिक्षामा रहेको पन्थीले दाबी गरे । गुल्मी अस्पतालका प्रमुख उत्तम पच्याले रिएजेन्ट क्यामिकल खरिदको प्रक्रियामा रहेको बताए । प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन भएकाले परीक्षणमा समस्या भएको भन्दै क्यामिकलको अभाब हुन नदिने गरी अस्पताल लागेको पच्याको दाबी छ । प्रयोगशाला संचालनका लागी फेरी आर्थिक अभाब हुन थालेको पनि गुल्मी अस्पतालका प्रमुख पच्याले बताए ।
जिल्लाका स्थानीय तहहरुको आर्थिक सहयोगमा सञ्चालनमा आएको प्रयोगशालामा फेरी आर्थिक अभाव हुन थालेको अस्पतालले जनाएको छ । जेठ महिना सम्मका लागि मात्रै पुगने गरी रकम रहेकाले फेरी आर्थिक अभाव हुन थालेको अस्पतालले जनाएको छ ।