पाल्पा, नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक कदम मान्न नसकिने तरुण दलले बताएको छ । जिल्ला सभापति मेजर सिंह केसी र सचिव गोपाल गैरेद्वारा जारी विज्ञप्तिमा संसद् विघटनले संविधानमाथि प्रहार भएको र सरकार स्वेच्छाचारी बनेको उल्लेख गरिएको छ ।
‘जेठ ७ गते मध्यरातमा प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति नेपाल तरुण दल पाल्पाको गम्भीर ध्यान आकर्षण भएको छ’विज्ञप्तिमा भनिएको छ । ‘जनप्रतिनिधिमूलक संस्थाको चिरहरण गर्नु असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी,निरंकुश र प्रतिगमनकारी कदम रहेको तरुण दलको ठहर छ । उक्त कदमप्रति तरुण दल पाल्पा घोर भत्र्सना गर्दछ,’विज्ञप्तिमा उल्लेख छ । उसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई आफू अनुकूल प्रयोग गरिरहेको पनि आरोप लगाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध एकजुट हुन सम्पूर्ण राजनितिक दल, नागरिक समाज,वौद्धिक व्यक्तित्व,मानव अधिकारकर्मी र आम नागरिकहरुलाई तरुण दल पाल्पाले आह्वान समेत गरेको छ ।