
पाल्पा, नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
अपिल मार्फत सभापति रानाले यो महामारीको घडीमा कोही कसैलाई अप्ठ्यारो र समस्या परेमा सम्पर्क गर्न जिल्लावासीलाई अपिल गरेका छन् ।सभापति रानाले अपिलमा भनेका छन् ‘जिल्लावासीहरुको जनस्वास्थ्यमा कुनै पनि प्रकारको असर नपरोस् भन्ने उद्देश्यले सम्बन्धित निकायलाई खबरदारी गर्ने देखि संक्रमित विरामीहरुको व्यवस्थापन, अक्सिजन, सुरक्षा सामग्री लगायतका स्वास्थ्य सामग्री वितरण र सहयोगमा हामी निरन्तर लागिरहेका छौं, साथै स्वास्थ्य सेवा सुविधाको उचित प्रवन्ध मिलाई संक्रमितको उपचारका लागि स्थानीय,प्रदेश सरकार र अन्य साझेदारी नियकायहरुसँग समन्वय, सहकार्यका साथ सहयोग जुटाउने कार्यमा समेत हामी निरन्तर प्रयासरत छौं ।’
महामारीमा सबै एक जुट हुन काँग्रेसले जिल्लावासीलाई हार्दिक अपिल गरेको छ । उसले भनेको छ ‘ महामारीको यस घडीमा जिल्लावासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले संयमित भई उच्च मनोवलका साथ आपसी सद्भाव, सहकार्य र सहयोग कायम राख्दै कोरोना महामारीका विरुद्ध एक जुट हुन जरुरी छ ।’
काँग्रेसले महामारीका कारण भौतिक रुपमा मृतकहरुप्रति श्रद्धाञ्जली दिन र शोकाकूल परिवाजनमा समवेदना दिन उपस्थित हुन नसकेको समेत अपिलमा उल्लेख गरेको छ । उसले महामारीबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना र कोरोना संक्रमणको उपचारमा रहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।