पाल्पा,जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४१, रम्भा गाउँपालिकाका २७, निस्दी गाउँपालिकाका १४, रैनादेवी छहरा गाउँपालिका १२, पूर्वखोला गाउँपालिकाका ११, रिब्दीकोट गाउँपालिकाका ४, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२,माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका १/१ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ९ सय ७२ पुगेको छ ।
१ सय ८ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ४८ र एन्टिजेन परीक्षणमा ६० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय १३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन, पूर्वखोलाका १६/१६, तिनाउका १२, रम्भा, बगनासकालीका, रैनादेवी छहरा र रिब्दीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ६४ पुगेको छ । जसमा १ हजार ५ सय ८७ जना महिला र २ हजार ८ सय ७७ जना पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा ६० जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका १५,निस्दीका ३०, रम्भाका ८, बगनासकालीका ६ र पूर्वखोलाका १ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ९ सय ७९ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ८८ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ३ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।