पाल्पा । तानसेनको दमकडामा सञ्चालन भएको पाल्पा महोत्सव साढे चार करोडको कारोबार गर्दै सकिएको छ । पाल्पा व्यापार संघको आयोजनामा फागुन १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको महोत्सवमा चार करोड ५० लाखको कारोबार गर्दै सकिएको हो ।
महोत्सव अवधिभर एक १० हजार दर्शकले मेला अवलोकन गरेका छन् । लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । जिल्लाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौँ अध्यक्ष पोखरेलले भने । महोत्सवमा कृषि ज्ञान केन्द्र, पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, उनजन्य बस्तुबाट बनेका टोपी, स्वीटर, मफलर, मौरीको गोला सहितको स्टल आकर्षक बनेका थिए ।
दश दिन सम्म सञ्चालन भएको महोत्सवको पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेयले समापन गरेका छन् । महोत्सवको समापन गर्दै सांसद पाण्डेयले जिल्लाको विकासमा महोत्सवले महत्वपूर्ण टेवा पु¥याएको बताए । उनले जिल्लामा भएका कृषि जन्यवस्तु र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।