पाल्पा,जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २४ महिला र ५७ जना पुरुष डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढी गाउँपालिकाका ५, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकाका १/१ रैनादेवी छहरा गाउँपालिकाका ३१, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका ३/३ बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ र तानसेन नगरपालिकाका ३२ संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ५३ पुगेको छ ।
२६ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३५ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन ९, माथागढीका ४, रम्भाका ३, पूर्वखोला, तिनाउ , बगनासकालीका, रैनादेवी छहराका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८४ पुगेको छ । जसमा १ हजार ५ सय ९७ जना महिला र २ हजार ८ सय ८७ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ६ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेन, माथागढी, पूर्वखोला, रैनादेवी छहराका १/१, बगनासकालीका २ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ९ सय ८५ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ३१ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार २ सय ६८ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।