पाल्पा, सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए । मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।
यस्तै सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था पनि गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ । यस्तै, सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलल बताए ।