गुल्मी,नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीले कोभिड–१९ बिरामीहरुलाई लक्षित गरि गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । आइतबार नेविसंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनालले एक थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका प्रमुख डा.उत्तम पच्या तथा अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
खनालले अक्सिजनको अभावमा कोही पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ नेविसंघले अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरेको बताए । नेविसंघले कोभिड–१९ लाई लक्षित गरि विपद्मा नेविसंघ भन्ने उद्देश्यका साथ हेलो नेविसंघ सञ्चालन गरेको थियो । सोही अभियानबाट संकलित आर्थिक रकमबाट १ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरणल गरेको नेविसंघका कार्यवाहक जिल्ला सभापति राम्जी पन्थीले जानकारी दिए । उनले जिल्लाबासीको साथमा विपद् र महामारीको समयमा नेविसंघ अस्पतालसंगै रहेको बताए ।
अस्पतालका प्रमुख डा.पच्याले महामारीको समयमा नेविसंघले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । अक्सिजन सहयोग हस्तान्तरण कार्यक्रममा नगर सभापति छवि पाण्डे लगायत नेविसंघका जिल्लास्थित नेताहरुको सहभागिता रहेको थियो । हस्तान्तरण कार्यक्रमको सञ्चालन नेविसंघ नेतृ पार्वती कुँवरले गरेकी थिइन् ।