गुल्मी,नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाईपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणबाट पन्थी पनि अछुतो रहेनन् । निरन्तर जनताका काममा खटिने पन्थीमा गत बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भयो ।
आफु परिवारको अभिभावक भएकाले अन्य सदस्यहरुको हेरचाह गनुपर्ने थियो । तर पन्थी आफै संक्रमित भएपछि मानसिक तनावको सिकार बन्नुप¥र्यो । यहि बीचमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणका कारण गुल्मीका मात्र ७८ जनाले ज्यान गुमाए ।
पन्थी होम आइसोलेसनबाटै सबै कुरा समाचारमा हेर्थे र पढ्थे । त्यस समयमा उनलाई कोरोनाबाट कसरी पुर्नजिवन प्राप्त गर्ने, सिङ्गो परिवारलाई महामारीबाटमुक्त गरी कसरी नयाँ जीवन प्रदान गर्ने भन्ने पिरले खुब पिरल्थ्यो । जनता कोरोनाको आहालमा एकमुठी सासका लागि संघर्ष गरिरहेका बेला पन्थी उनीहरुको सारथी बन्न चाहन्थे ।
कोरोनाको आहालमा डुबिरहेका परिवारहरुलाई सहयोग र हौसला बाड्न चाहान्थे । तर बिडम्बना ! गरिब, दलित र दुःखीका सारथी पन्थी आफै कोरोनासंग पैठेजोरी खेलिरहेका थिए । तर हार भने खाएनन् । पन्थी उच्चमनोबलका साथ अन्ततः २७ दिनको अत्यास लाग्दो होम आइसोलेसनको बसाइपछि घरका सबै सदस्यहरु सहित कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त भएपछि ४६ वर्षीय पन्थीले भने ‘ मैले पुनर्जीवन पाएको अनुभूती गरेको छु’। झण्डै एक महिनाको लामो आइसोलेसनको बसाइलाई सम्झिदै पन्थीले भने, ‘रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा आइरहने आफ्नो प्रियजनको मृत्युको खबरले निकै भावविह्वल बनाउँथ्यो । त्यस समयमा आफु संक्रमित भए पनि कतै जुरुक्कै उठेर उनीहरुको उपचार र उद्दारमा जुट्न मन लाग्थ्यो।’
कोभिड–१९ को महामारीसँग जुँध्न सरकारको तयारी राम्रो नभएकै कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको पन्थीको भनाई छ । ‘जनता कोरोनाबाट थला परिरहेका छन् । देश धुरु–धुरु रोइरहेको छ।’ उनले भने,‘जनताले सरकार पुकारी रहेका छन् । गरिब र मजदुरका घरमा छाँक अड्किने अवस्था आएको छ । तर सरकार कहीँ भेटिन्न । कहीँ देखिन्न ।’
सचिव पन्थीले यतिबेला जनताको घर–घरमा गएर एन्टीजेन परीक्षण गरिनुपर्ने सुझाव दिए । ‘सरकार अहिले कोरोना संक्रमितको डाटा बनाइरहेको छ । डाटामा रमाइरहेको छ ।’ उनले भने,‘ सरकार तिमि कहाँ भेटिन्छौं ?, यी आँसुहरु कस्ले देख्ने ? यो छट्पटाहट कसले सुन्ने ?’
कोरोना संक्रमणका कारण पछिल्लो समय समाजप्रतिको दायित्व र सेवामा आफु निरन्तर खट्न नसके पनि अब भने जनताको सेवाका लागि आफु तत्पर रहेको बताए । साथै उनले राष्ट्रि दलित पत्रकार संघ नेपाल गुल्मीले सञ्चालन गरेको ‘कोभिड–१९ मजदुर राहत अभियान’ का लागि आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सहयोग गर्ने उद्घोष समेत गरेका छन् ।