पाल्पा,जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७५ महिला र ८० जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ३५, रामपुर नगरपालिकाका ३९, पूर्वखोला गाउँपालिका २,रम्भा गाउँपालिकाका ४१, बगनासकाली गाउँपालिका ८, तिनाउ गाउँपालिकाका ३०, जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ६ सय ३८ पुगेको छ ।
१ सय ३९ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय १२ र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा माथागढी, पूर्वखोला, रम्भाका २/२, रैनादेवी छहराका ३६, बगनासकालीका ४,तिनाउका १, रिब्दीकोटका ४, तानसेनका ६१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५२ पुगेको छ । जसमा १ हजार ७ सय २० जना महिला र ३ हजार ३२ जना पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा २७ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ३९ जनाको परीक्षण गरिएकोमा महिला १३ र पुरुष १४ जनामा संक्रमण देखिएको हो । जसमा रामपुरका ८, पूर्वखोला,बगनासकालीका २/२, रैनादेवी छहरा, रम्भा, रिब्दीकोटका १/१, तिनाउका ९ र तानसेनका ९ जना रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार ९४ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९० पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय १७ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।