Shittalpati
पाल्पामा संक्रमित घट्दै, निको हुने बढ्दै

रामचन्द्र रायमाझी
पाल्पा, कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्लो केही दिन यता कोरोना निको हुने संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । वैशाखको पहिलो साता पिसिआर परीक्षण गरेकामध्ये ८० प्रतिशत संक्रमण देखिएको थियो । जेठ पहिलो साता भने ४० प्रतिशतकै हारहारीमा संक्रमण पाइयो । जेठ दोस्रो साता यो दर अझ घटेर ३० प्रतिशतमा आयो भने बुधबार यो दर घटेर २९ प्रतिशतमा छ । मंगलबार जिल्ला भरीको ४ सय ५६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गराउँदा १ सय ३९ जना अर्थात् ३० प्रतिशत मात्रै पोजिटिभ देखिएको छ । बुधबार पनि संक्रमितको दर अझ घटेको छ । जिल्ल्लाभरका २ सय १० जनाको पीसीआर र एन्टिजेन परीक्षण गराउँदा ६१ जना अर्थात् २९ प्रतिशत मात्रै पोजिटिभ देखियो ।

त्यस्तै निको हुनेको दर पनि बढ्दै गएको छ । वैशाख पहिलो साता निको हुनेको दर अत्यन्त न्यून रहेको थियो । जेठ पहिलो सातातिर भने यो दर अत्याधिक मात्रमा बढेको छ । जेठ पहिलो साता संक्रमित दरको तुलनामा निको हुने ६२ प्रतिशत थियो । जेठ दोस्रो सात यो दर अझ बढेर गयो । दोस्रो साता दैनिक औसतमा ७०/७५ प्रतिशतमा संक्रमित निको हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढमा छ । पछिल्लो दुई साताको तथ्याड्ढलाई हेर्दा पनि संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या बढी देखिएको छ । यहाँ पछिल्लो दुई सातामा एक हजार ३ सय ५६ जना संक्रमित हुँदा एक हजार ८ सय १० अर्थात् ७४.९१ प्रतिशत निको भएका छन् । उनीहरु मध्ये केही अस्पतालमा र केही होमआइसोलेसनमा रहेर उपचार गराएकाहरु हुन् । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख नारायणप्रसाद चौधरीले संक्रमित हुने दर घटे पनि ढुक्क भइहाल्ने अवस्था भने नभएको बताए । ‘संक्रमित हुने दर थोरै घटेको हो । ढुक्क भइहाल्ने अवस्था अझै छैन ।

संक्रमण माथिबाट ओरालो लागेको देखिन्छ,’ उनले भने । निषेधाज्ञामा सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना गर्नुका साथै विभिन्न क्षेत्रको मिहिनेतपछि यो अवस्थामा आउँन सकेको उनले बताए । सक्रिय संक्रमित अझै हजारको आसपासमा रहेकाले यसै भन्न सकिने अवस्था नरहेको प्रमुख चौधरीको भनाई छ । उनले कोरोना संक्रमण पहिचानका लागि स्वाब परीक्षण गराउनेको संख्या पनि घट्दै गएको जानकारी दिए । यहाँ बुधबार मात्र १ सय २ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६५ जना महिला र ३७ जना पुरुष कोरोनामुक्त भएको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ३०, माथागढी गाउँपालिकाका ३०, रामपुर नगरपालिकाका १, पूर्वखोला गाउँपालिका ३, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिका २०, तिनाउ गाउँपालिकाका ११, जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ७ सय ४० अर्थात् ८०.४८ प्रतिशत छ । यस्तै बुधबार ६१ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा ५५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय १० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ३, रैनादेवी छहराका २,रम्भाका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५८ पुगेको छ । जसमा १ हजार ७ सय २३ जना महिला र ३ हजार ३५ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ५५ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ९० जनाको परीक्षण गरिएकोमा महिला २७ र २८ पुरुषमा संक्रमण देखिएको हो । जसमा रामपुरका ५, रैनादेवी छहराका २, रम्भा, रिब्दीकोटका १/१, बगनासकालीका ३, निस्दीका ३७ र तानसेनका ६ जना रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ७४ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update