Shittalpati
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स  सहयोग

गुल्मी,जिल्लाका स्थानीय तह र अस्पतालहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुद्वारा कन्सन्ट्रेटर्स सहयोग भएको छ । क्रिटिकल केयर र डाँफे फाउन्डेसनले यहाँका स्थानीय तह र सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स मेसिन सहयोग गरेका हुन् ।

अमेरिकामा रहेका डाक्टर दिपेन कडारियाले डाँफे फाउण्डेशनमार्फत नेपालको क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई विभिन्न स्वास्थ्य उपकरण र सामग्रीहरु सहयोग गरेका थिए । उक्त सहयोग सागम्री फाउन्डेसनमार्फत डाक्टर लक्ष्मण भुसालले नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर्स वितरण गरेको महासंघको ‘अक्सिजन अभियानका’ अभियान्ता तारा प्रसाद भुसालले जानकारी दिए ।
सोमबार जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, गुल्मी दरवार गाउँपालिका, इस्मा र छत्रकोट गाउँपालिकालाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर्स मेसिन प्रदान गरिएको हो । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक तथा प्रतिनिधीहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गरेका थिए । स्थानीय तहलाई मेसिन प्रदान गर्दै मेयर भुसालले सहयोग गर्ने डाँफे फाण्डेशन र समन्वय गर्ने क्रिटिकल केयरसहित डाक्टर लक्ष्मण भुसाल तथा नेपाल पत्रकार महासंघ गुल्मीलाई धन्यवाद दिए । ‘पत्रकारले पेसासंगै अक्सिजन प्लान्टको उदाहरणीय अभियान चलाए, डाँफे र केयर जस्ता कैयन संस्थाले महामारीमा सहयोग तथा समन्वय गरे मावनता त्यहि हो,’उनले भने,‘महामारीमा प्राप्त सहयोगको सही सदुपयोग गरियोस् ।’


यसैबिच केहि दिन अघि डाँफे फाउण्डेशन र नेपाल क्रिटिकल केयरकै सहयोगमा नेपाल पत्रकार महासंघमार्फत गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गरिएको थियो । त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रमार्फत धर्कोट गाउँपालिका र मदाने गाउँपालिकालाई २/२ थान अक्सिजन कन्सनटे«टर्स र १५ थान पिपई वितरण गरिएको छ । गुल्मी दरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै सहयोगले आफुहरुलाई कोभिड विरुद्ध काम थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष टोपलाल अर्यालले आफुहरुको अभियानसंग जोडिएर स्थानीय तह र अस्पतालहरुमा स्वास्थ्य उपकरण प्रदान गर्ने डाक्टर दिपेन कडरिया, सम्राट आचार्य र डाक्टर लक्ष्मण भुसालप्रति आभार प्रकट गरे । अक्सिजन सिलिन्डर खरिद, भर्ने र अरु सामग्री प्रदान गर्ने काम महासंघले निरन्तर गरिरहेको अक्सिजन अभियान समन्वय समिति संयोजक जनार्दन घिमिरेले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update