पाल्पा, कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।
पछिल्ला २४ घण्टामा पनि संक्रमितको दर भन्दा निको हुनेको दर बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६ जना संक्रमित निको भएका छन्, भने ७३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५३ जना महिला र ५३ जना पुरुष निको भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २७, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिकाका १/१, रैनादेवी छहरा गाउँपालिकाका १५, रम्भा गाउँपालिका २, तिनाउ गाउँपालिकाका २४ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार २ सय पुगेको छ ।
७३ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २ सय जनाको परीक्षण गरिएकोमा ६१ जनामा संक्रमण देखिएको छ । जसमा २५ जना महिला र ३६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका ६, माथागढीका २२, रैनादेवी छहराका १, तिनाउका २ र रिब्दीकोटका ३० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७० पुगेको छ । जसमा १ हजार ८ सय १ महिला र ३ हजार १ सय ६९ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना महिला र ७ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार पूर्वखोलाका ११ र तानसेनका १ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ७ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ८३ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।