पाल्पा, नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पा पठाइएको स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । नेपाली काँग्रेस पाल्पाको आग्रह, सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो । उक्त सामग्री शनिबार नेपाली काँग्रेसको समन्वयमा पाल्पा अस्पताल, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई एक/एक वटा अक्सिजन कन्सन्सट्रेटर्स दिइएको छ ।
काँग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर राना,नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री युवराज पाण्डे लगायतले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डे, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर, रैनादेवी छहरा गाउँपालिकाका प्रतिनिधि रुक्मागत भट्टराईलाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै काँग्रेसका जिल्ला सभापति रानाले महामारी र विपत्तीमा काँग्रेस जनातको बीचमा छ भन्ने सन्देश प्रवाह भएको बताए । उनले यसअघि पनि जिल्ला अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको बताए । सभापति रानाले पाल्पा काँग्रेसको आग्रहमा स्वास्थ्य सामग्रीका लागि पहल गर्ने पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र उपलब्ध गराउने नेपाल मेडिकल एसोसिएनलाई धन्यवाद समेत व्यक्त गरेका छन् । यो सहयोगले गरिब, दिनदुखीहरुले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सजिलो हुने उनले बताए । सामग्री ग्रहण गर्दै पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डले महामारीका बेला काँग्रेसले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । उनले कोरोना नियन्त्रणमा काँग्रेसले राजनितिक आस्था भन्दा माथि उठेर काम गरेको भन्दै धन्यवाद दिए । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले कोरोना नियन्त्रणमा स्थानीय सरकार एक्लैलाई हम्मे हम्मे भएका बेला युवा नेता गगन थापाको पहलमा उपलब्ध भएको स्वास्थ्य सुरक्षा सामग्रीले केही राहत मिलेको भन्दै पहल गर्ने र उपलब्ध गराउने व्यक्ति र संघ संस्थालाई हार्दिक आभार व्यक्त गरे ।
काँग्रेस नेता थापाको पहलमा स्वास्थ्य सामग्री काठमाडौँ देखि लिएर नेविसंघ महामन्त्री युवराज पाण्डे, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य गुरु प्रसाद भट्टराई, नेविसंघका नेता नारायण पाण्डे लगायतको टोली तानसेन आएको हो । सांसद गगन थापाका सल्लाहकार प्रताप पौडेलले उक्त सामग्रीको व्यवस्थापनमा सहजिकरण गर्दै आएका छन् । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा काँग्रेसका जिल्ला सचिवहरु झपेन्द्र गहिरे, अजयमान कर्मचार्य, काँग्रेसका वरिष्ठ नेता विधान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सुनिता अधिकारी, बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारी, नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पसका इकाई कार्यवाहक सभापति सुवास गैरे लगायतका नेताहरुको सहभागिता रहेको थियो । सांसद थापाको पहलमा कोरोना महामारी नियन्त्रणमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाका स्थानीय तह र सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको नेविसंघका पूर्व केन्द्रीय सदस्य गुरु प्रसाद भट्टराईले बताए ।