Shittalpati
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रामचन्द्र रायमाझी

पाल्पा, लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण यहाँका ठूला नदीहरुमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, परासी, कपिलबस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा बाढी आएको छ । तीन दिनसम्म भारी वर्षा हुने भएकाले यी क्षेत्रहरुका नदीमा जलसतह बढी बाढीको पूर्वानुमान गरिएको छ ।

शनिबारदेखिको लगातारको वर्षाका कारण देशका केही नदीका जलसतहले सतर्कता तह पार गरेका छन् । बाढी पूर्वानुमान महाशाखाका अनुसार यति बेला बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यसैगरी आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको छ ।

तस्वीर : अविरल वर्षासँगै बढेको पाल्पा र गुल्मीको संगमस्थल रिडीस्थित कालिगण्डकी नदी ।

 

यता चारदिन देखि परिरहेको वर्षाका कारण पाल्पा र गुल्मीको सीमा क्षेत्र रुरु क्षेत्र धाम रिडीमा पर्ने कालीगण्डकी नदी र रिडी खोलामा पानीको सतह बढ्दै गएको छ । कालीगण्डकी नदी र रिडी खोलामा पानीको बहाव बढ्दै गएपछि नदी किनारका बस्तीहरु जोखिममा परेका छन् । निरन्तर अविरल वर्ष भइरहेकाले नदीमा पानीको मात्रा बढ्दै जाँदा नजिकका घरहरुमा जोखिम बढेको स्थानीय पत्रकार चुरामणी तिमिल्सीनाले बताए । उनले सामाजिक सञ्जालमा त्यहाँको वर्तमान अवस्थाको भिडियो सार्वजनिक गर्दै पानीको बहाव बढ्दै गएकाले नदी किनारका वासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । निर्माणधिन अवस्थामा रहेको तीन मुखे पुलको काम समेत प्रभावित भएको छ । नदीमा पानीको मात्रा बढ्दै गएपछि निर्माणको काम रोकिएको छ । यहाँ अझ निरन्तर वर्षा हुँदै जाने र कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने हो भने ठूलो क्षति हुन सक्ने आंकलन स्थानीयले गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update