चार दिनदेखि मनसुन निकै सक्रिय बनेको छ । निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने बताएको छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ ।
शनिबारदेखिको निरन्तर बर्षाका कारण नेपालका अधिकांस स्थानको जनजीवन प्रभावित हुन पुगेको छ । हरेक वर्ष मानिसले यि र यस्ता प्राकृतिक प्रकोपसँग पैँठेजरी खेल्दै आएको छ ।
धेरैको प्राकृतिक प्रकोपका कारण ज्यान गएको छ भने कतिको घरबार नै गुमेको छ । प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । तर यसतर्फ पूर्व सतर्कता अपनाउन सकियो भने केही हदसम्म बच्न र बचाउन भने सकिन्छ । नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका विभिन्न उपायहरू कार्यान्वयन गर्ने जनाए तापनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन । प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भुइँचालो, तुफान, ज्वालामुखी, बाढीपहिरोे, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरूजस्ता प्रकोपहरूबाट बर्सेनि थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबारबीहिन र घाइते भएका घटनाहरू घटि नै रहेका छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । यसर्थ मनसुन सक्रिय बन्दै गएकाले त्यसबाट हुन सक्ने क्षतिका बारेमा पहिले नै उच्च सतर्कता अपनाउन जरुरी छ ।