Shittalpati
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट), कालीगण्डकी नदिमा जलसतह बढेपछि गुल्मी पुर्तिघाट बजारका ३ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि यहाँका घरहरु जोखिममा रहेका हुन् ।

बाढीका कारण गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारदेखि वडा कार्यालय जाने सडक समेत अवरुद्ध रहेका छन् । नदिको तटीय क्षेत्रमा रहेको पुर्तिघाट बजारको जिवनोद्वार माध्यमिक विद्यालयको नजिकै रहेका गोपाल पराजुली,रोतेली चालिसे र मनु सार्कीको घर जोखिममा रहेका छन् । त्यस्तै नदीले कालीगण्डकी पाउरोटी उद्योगको केही भाग समेत कटान गरेको छ ।

पुर्तिघाटका वडा अध्यक्ष होम बहादुर थापाका अनुसार जोखिममा परेका घर परिवारलाई अहिले पुर्तिघाट बजारमा रहेका आफ्न्ता कहाँ सुरक्षित स्थानान्तरण गरिसकिएको छ । गएरातीदेखि अवरुद्ध बनेको यहाँको विद्युत सेवा अहिले सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत पुर्तिघाटमा रहेको ट्रान्सर्फमर नजिकै माथिदेखि ठूलो रुख ढलेर विद्युत पोल क्षतिग्रस्त भएपछि वडा नं ३,४,५,६,७ को विद्युत प्रशारण लाइन अवरुद्ध भएको थियो । आज बिहाना देखि निरन्तर ५ घण्टा भन्दा बढिको प्रयासले विद्युत लाइन प्रशारणमा ल्याइएको वडा अध्यक्ष थापाले बताए । अन्य वडामा पनि घरहरू जोखिममा रहेको हुन सक्ने बताइएको छ । पानी अझ केही दिन आउन सक्ने भएकाले सजक रहन गाउँपालिकाले सबैलाई आग्रह समेत छ ।

कालीगण्डकी जलविद्युत ए नजिकैको सडक भासिएका कारण गुल्मी बुटवल सडकखण्ड पनि अवरुद्ध रहेको छ । अहिले भने दुइवटा इक्जाभेटर प्रयोग गरि निरन्तर बाटो सञ्चालन गर्ने कार्य भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update