Shittalpati
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री

पाल्पा, नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

केन्द्रले पाल्पा अस्पतालका लागि अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेलाई एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष पाण्डेले महामारीका बेलामा माओवादी केन्द्रले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रसंशनिय रहेको बताए । उनले यति बेला स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउने र आम नागरिकलाई संक्रमणबाट बचाउने दायित्व सरकार, राजनितिक दल, सरकारी गैरसकारी संघसंस्थाहरुको पनि रहेको धारणा व्यक्त गरे ।

यस्तै माओवादी केन्द्रले निलसागरमा रहेका वृद्धवृद्धाहरुका लागिका पनि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, जिल्ला सदस्यहरु नवराज बस्याल, मथुरा ढकाल,नगर सह इन्चार्ज प्रतिक्षा सिंजाली, नगर सचिव नारायण कार्की लगायतको टोलीले निलसारका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेको हो ।

केन्द्रले पाल्पा अस्पताललाई एन्टीजेन २५ थान,अक्सिजन सिलिन्डर एक थान, अक्सिमिटर ८ थान,पिपिइ ५ सेट र एन.नाइटी फाइभ मास्क ५ सय थान सहयोग गरेको हो । यस्तै निलसागर सेवा आश्रमलाई २५ थान एन्टीजेन,एक थान थर्मल गन,१ थान अक्सोमिटर,८० पिस एन.नाइटी फाइभ मास्क र एक थान अक्सिजन सिलन्डर हस्तान्त्रण गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update