पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ६१ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २२, माथागढी गाउँपालिकाका ३४ , रामपुर नगरपालिकाका १६, रैनादेवी छहरा गाउँपालिकाका ३, रम्भा गाउँपालिका ६, बगनासकाली गाउँपालिकाका ५, तिनाउ गाउँपालिकाका १२, रिब्दीकोट गाउँपालिकाका १ र निस्दी गाउँपालिकाका १८ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ९ सय ९१ पुगेको छ ।
२८ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २ र एन्टिजेन परीक्षणमा २६ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १२ जनाको परीक्षण गरिएकोमा पूर्वखोला र तानसेनका १/१ जना महिलामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९६ पुगेको छ । जसमा १ हजार ८ सय ९८ महिला र ३ हजार २ सय ९८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । रामपुरका ५, तिनाउका २१ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ४ सय ७५ पुगेको छ । यहाँ अहिलेसम्म १ सय जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८० छ । अहिलेसम्म जिल्लामा ५ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।