पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ७८ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३२ जना महिला र ४६ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ९, माथागढी गाउँपालिकाका २२, पूर्वखोला गाउँपालिकाका १२, रैनादेवी छहरा गाउँपालिकाका १, रम्भा गाउँपालिका÷तिनाउ गाउँपालिकाका २÷२ र रिब्दीकोट गाउँपालिकाका ३० जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ६९ पुगेको छ ।
२१ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३ र एन्टिजेन परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १७ जनाको परीक्षण गरिएकोमा रिब्दीकोटका १ र तानसेनका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९९ पुगेको छ । जसमा १ हजार ९ सय महिला र ३ हजार २ सय ९९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ । ९१ जनामा परीक्षण गरिएकोमा माथागढीका २, रैनादेवी छहराका ६, बगनासकालीका ३, रिब्दीकोटका ३, तानसेनका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय २३ छ । अहिलेसम्म जिल्लामा ४ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।