पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । रम्भा –१ अर्सेदीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको बताएका हुन् ।
उनले कोरोना महामारीले ठूलो पाठ सिकाएकाले आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने बताए । स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष भण्डारीले हरेक वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरी र जनमैत्री बनाउदै आफुहरु अगाडि बढेको बताए । उनले भने ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुरुका दिनदेखि नै काम गर्दै आएका छौं, यहाँका जनताहरुलाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरेका छौं ।’
नेपालमै पहिलो पटक स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी सिर्जना गरेर हुँगीबाट चिकित्सकिय स्वास्थ्य सेवामार्फत रम्भावासीले अनुभुति हुने गरि स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको अध्यक्ष भण्डारीको भनाई छ । स्वास्थ्य इकाई उद्घाटन कार्यक्रममा हुँगी स्वास्थ्य चौकीका डाक्टर पुजन श्रेष्ठ,गाउँपालिकाका स्वास्थ्य संयोजक शिव अर्याल,रम्भा १ हुँगीका वडाअध्यक्ष कृष्ण प्रसाद रेग्मी,गाउँपालिका अध्यक्षका स्वकीय सचिव विजय रानाभाट लगायतको सहभागिता रहेको थियो ।