पाल्पा, जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ । बगनासकाली पत्रकार समूहले कोरोना महामारीको अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
बगनासकाली गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बिच जिल्लाका ५० जना पत्रकार र पत्रकार महासंघ पाल्पालाई सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली पत्रकार समूहका सचिव विष्णु घिमिरेका अनुसार नेपाल पत्रकार महासंघ पाल्पालाई १० वटा पल्स अक्सिमिटर, २० प्याकेट माक्स र सेनिटाइजर वितरण गरिएको थियो । त्यसैगरी अन्य ५० जना पत्रकारहरुलाई १/१ वटा पल्स अक्सिमिटर, २/२ प्याकेट माक्स र सेनिटाइजर वितरण गरिएको हो ।
पत्रकारहरुलाई सुरक्षा सामग्रीहरु वितरण गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कोभिड १९ को संक्रमणमा फ्रन्टलाइनमा रहेर जनतालाई सूचना दिने पत्रकारहरुको सुरक्षाका लागि गाउँपालिकाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताए । कार्यक्रम बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।