असारको पहिलो हप्ता सकिएको छ । यस बिचमा विकासे कामहरुले तिव्रता पाइरहेका छन् । हुन त यस अघि पनि असारमै विकासका कामले यसरी नै तिव्रता नपाएका होइनन् । यहाँ असार लागेपछि मात्र विकासका कामहरु धमाधम हुने परम्परा नै छ । अघिपछि काम नगर्ने जब असार लाग्छ सो समयमा काम गर्ने प्रवृत्ति नेपालमा हावी छ । यस्तो हुनु दुखद् हो ।
वर्षौंदेखि आर्थिक वर्षको ‘क्लोजिङ’ अर्थात् असार मसान्त नजिकिएसँगै विकास गतिविधिहरूले देशभरि नै जबर्जस्तीरुपमा तीव्रता पाउने भएकाले आमसर्वसाधारणले असारे विकासलाई नजिकबाटै चिन्ने गरेका छन् । असार नजिकिएसँगै आमसञ्चारका माध्यमहरूमा असारे विकासका गुणस्तरहीन काम र दुस्प्रभावका बारेमा बाक्लै चर्चा र बहसहरू हुने गर्दछन् । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि हतारमा बजेट खर्च गर्ने सरकारी प्रवृत्ति छ । चालू वर्ष ०७७÷७८ सकिन केही दिन बाँकी रहँदा पाल्पा लगायत देशभरका अधिकांस स्थानीय तहसहितका सरकारी निकाय बजेट सक्ने ध्याउन्नमा देखिएका छन् । विकासे अड्डामा बजेट सक्ने चटारो छ । झरीकाबीच पनि सडक, ढल निर्माण र मर्मतलगायत अन्य विकास निर्माणका काम धमाधम भइरहेको छ । ग्रामीण क्षेत्रमा डोजर र स्काभेटरले सडक खन्न थालेका छन् । यो समयमा हुने कामको गुणस्तर कमजोर र भ्रष्टाचार पनि हुने भएकाले यस्ता कामप्रति सर्वत्र विरोध हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको बजेट चालु आर्थिक वर्षभित्रमा खर्च गरिसक्नुपर्छ । गरिसकिएन भने त्यस्तो रकम फ्रिज हुने गर्दछ । त्यस कारण आर्थिक वर्षको सुरुवाततिर सुस्त–सुस्त गतिमा भइरहेका विकास निर्माणका कामहरू आर्थिक वर्षको समाप्तितिर द्रुत गतिमा गर्ने गरिन्छ । यसो गर्नाले हतपतको काम लतपत भनेजस्तो हुने गर्छ । जसरी पनि काम सक्ने नियत राखिन्छ । काम छिटोछिटो गर्नाले गुणस्तरीय काम हुन पाउँदैन । तसर्थ असारे विकास सधैका लागि अन्त्य गर्न जरुरी छ ।