पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २२ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ८, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका ७, रैनादेवी छहरा गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ३ सय २७ पुगेको छ ।
५६ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा ५१ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १८ जनाको परीक्षण गरिएकोमा तानसेनका २, रैनादेवी छहरा, तिनाउ, रिब्दीकोटका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ३१ पुगेको छ । जसमा १ हजार ९ सय ८ महिला र ३ हजार ३ सय २३ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४९ जनामा परीक्षण गरिएकोमा रामपुरका ७, रैनादेवी छहराका १, रम्भाका २, बगनासकालीका ३, रिब्दीकोटका २, तिनाउका १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय २१ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय १९ छ । अहिलेसम्म जिल्लामा ३ सय ७९ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।