पाल्पा, नेपाली कांग्रेस मुसिकोट नगरापालिकाका सभापति एवं बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको सामुदायिक अस्पतालमा उपचारथ शाक्यको बुधबार राति निधन भएको हो ।
शाक्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस गुल्मीको कार्यालयमा लगिएको थियो । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले झण्डा ओढाएका थिए । अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस नेता श्रेष्ठले सुदर्शन शाक्य राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको बताएका थिए । सभापति श्रेष्ठले शाक्यको निधनले नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो मुसिकोट नगरपालिकालाई समेत अपुरणीय क्षति पुगेको बताए । शाक्य सबैलाई मिलाउन सक्ने समन्वयकारी व्यक्तित्व भएको पनि श्रेष्ठले भनाई छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले शाक्यको मिजासपन र सरलताका कारण दर्जन भन्दा बढी संघसंस्थाको नेतृत्व गर्ने अवसर पाएको बताए । कांग्रेस प्रतिको उनको निष्ठा र इमान्दारीता सधै सम्झने लायकको भएको पन्थीको भनाई छ । शाक्य श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको अध्यक्ष, उद्योग बाणिज्य संघ मुसिकोटको अध्यक्ष, महेन्द्र आदर्श माध्यमिक विद्यालयको अध्यक्ष, पुष्पाञ्जली रेडियोको निवर्तमान अध्यक्षका साथै दर्जानौ संघ संस्थामा आवद्ध थिए ।
शाक्यलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि जिल्लामा रहेका सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, जनप्रतिनिधि, पत्रकारका साथै सामाजिक क्षेत्रमा काम गर्ने समाजसेवीहरु पनि अन्तिम श्रद्धाञ्जली दिनका लागि काँग्रेस पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालयको श्रद्धाञ्जलीपछि उनको शवलाई अन्तिम संस्कारका लागि जन्मथलो वामीटक्सार लगिएको थियो । स्वर्गीय शाक्यका श्रीमती दुई छोरा र तीन छोरी रहेका छन् ।