पाल्पा, सरकारका मन्त्रीले नै शक्तिको दुरुपयोग गरि जातीय विभेदलाई प्रश्रय दिएको भन्दै गुल्मीका दलित अधिकारकर्मीहरुले राजीनामा माग गरेका छन् । काठमाडौं बवरमहल स्थित सरस्वती प्रधानको घरमा कोठा खोज्दा सञ्चारकर्मी रुपा सुनारमाथि जातकै आधारमा गरिएको जातीय छुवाछूत तथा भेदभावको घट्ना विरुद्ध प्रहरी कार्यालयमा न्यायका उजुरी गरिएको थियो । अनुसन्धानका लागि थुनामा रहेकी प्रधानलाई नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले स्वंय उपस्थित भई आफनो जमानतमा जवरजस्ती थुना मुक्त गरी नेपाल सरकारको झण्डा वाला गाडीमा राखी लगेका थिए ।
दलित अधिकारकर्मीहरुको साझा संस्था दलित साझा मञ्च गुल्मीले प्रेस विज्ञप्ति जारी गर्दै शक्तिको दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रिया माथि मन्त्रीबाटै गरिएको ठाडो हस्तक्षेपप्रति घोर भत्र्र्सना गर्दै कार्वाहीको माग गरिएको छ । प्रेस विज्ञप्तिमा राज्यको आडमा जातीय छुवाछुत तथा भेदभावलाइ प्रश्रय दिने निज मन्त्रीलाई तुरुन्त मन्त्रीपदवाट बर्खास्त गरी राज्यको कानुन अनुसार आवश्यक कार्वाही गर्न प्रधानमन्त्रीको ध्यानार्षण समेत गराइएको छ । जातका आधारमा छुवाछूत र भेदभाव गर्ने काम जघन्य अपराधपूर्ण कार्य हो । यो घृणित कार्य फौजदारी तथा सरकारवादी कसुर समेत हो। विज्ञप्तिमा भनिएको छ, कसैले घर भाडामा दिनु वा नदिनु नीज व्यक्तिको विषय हो तर दलित भएकै कारणले कोठा भाडा दिन्न भन्नु अपराध नै हो ।’
अनुसन्धान प्रक्रिया नै पुरा गर्न नदिई स्वंयम मन्त्रीआफै प्रहरी कार्यालय पुगेर आरोपितलाई राज्यको शक्तिको दुरुपयोग गरी जवरस्ती छुटाई सरकारी गाडीमा राखेर अपहरणको शैलीमा लैजानु लज्जास्पद घट्ना मात्र नभई संवैधानिक, कानुनी र विधिको शासनमाथिको गम्भिर हस्तक्षेप र घृणित कार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ,‘अपराधीको कुनै पार्टी, जात, धर्म, लिगं, वर्ण र क्षेत्र हुदैन भन्ने साश्वत सत्यलाई ध्यानमा राख्दै कानुनअनुसार जो कोही पनि सजायको भागी हुनुपर्दछ ।’ सोही मान्यताका आधारमा न्यायको लडाईमा दलित साझा मञ्च गुल्मीले पनि सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै घृणित कार्य गर्ने प्रधान तथा राज्यको शक्तिको दुरुपयोग गर्ने बहालवालामन्त्रीलाई कार्वाही गर्न जोडदार माग गरेको छ। अन्यथा दलित साझा मञ्च गुल्मी कडा आन्दोलनमा उत्रने र आन्दोलनवाट जातीय भेदभाव तथा छूवाछुत मुक्त राज्यले महंगो मूल्य चुकाउनु पर्ने समेत प्रेस विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
प्रेस विज्ञप्तिमा दलित साझा मञ्च अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष रोम विश्वकर्मा, नेपाली काँग्रेस दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, नेपाल उत्पीडित जातीयमुक्ति समाज सल्लाहकार संयोजक छविलाल विश्वकर्मा, दलित साझा मञ्च सदस्य कृष्ण विश्वकर्मा, दलित महिला संघ अध्यक्ष कमला वराल, परियार सेवा समाज अध्यक्ष लक्ष्मण परियार, दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य प्रेम सुनार, दलित पत्रकार संघ नेपाल गुल्मीका सचिव मनु सुनारको हस्ताक्षर रहेको छ ।