पाल्पा, नेपाली साहित्यको श्रीवृद्धिमा नविन योगदान गरौं भन्ने उद्देश्यका साथ ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । सामाजिक सञ्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो ।
समितिको अध्यक्षमा साहित्यकार पुष्कर अथक रेग्मी( पाल्पा ) रहेका छन् । उपाध्यक्षमा सीता बिष्ट कार्की ‘सीबिका’ (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला (यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल ‘दीपक’ सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण के.सी.(नुवाकोट ),सुरेशचन्द्र घिमिरे ( लमजुङ ) मनु खत्री (गुल्मी ),चन्द्रावती अधिकारी (कोहलपुर ), इन्दिरा गौतम( आसाम,भारत ) र विजयीता भण्डारी ( झापा) रहेका छन् । आगामी दिनमा सात प्रदेश र विदेश विभाग प्रमुखहरू पनि मनोनयन गरिने समाजका अध्यक्ष रेग्मीले बताए । शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । पानीको सानो बुँदलाई शीत भनिए जस्तै कविताको अति लघुतम रूपलाई शीत नामाकरण गरिएको हो । शीत २/२ अक्षरको चार हरफमा जम्मा आठ अक्षरमा लेखिन्छ । यसलाई विभिन्न नियममा सजिलै लेख्न सकिने समाजका सचिव दामोदर ढकालले बताए ।
समाजले मुहार पुस्तिकामा शीत काव्य समाजको पेज निर्माणका साथै मेसेञ्जर समूह निर्माण गरेको छ । जस्मा पूर्वमा झापादेखि पश्चिममा महेन्द्रनगर र भारत तथा अरब मुलुकका सर्जकहरूको सहभागीता रहेको छ । सर्जकहरू शीत कविता लेख्दैछन र विभिन्न माध्यमद्वारा संप्रेषण गर्दै छन् । नेपाली साहित्यको श्रीवृद्धिका लागि लघुकाव्य शीतले नवीनतम योगदान पुर्याउने आशा लिइएको छ ।